
काठमाडौं । गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन्।
उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता सशश्त्र प्रहरी बलको एपीएफलाई निकै प्रतिस्पर्धात्मक खेलमा १४–१२ स्कोरले पराजित गर्यो।
त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हराउन सफल भयो।
च्यासल खेल मैदानमा गोर्खाली र एपीएफ विचको खेल भने हेर्न लायकको थियो। साविक विजेता गोर्खालीले शुरु देखि नै विपक्षी विरुद्ध दवाव बनाएको थियो। तर नयाँ संरचनामा बलियो टिम बनाएर आएको एपीएफले खेलमा अग्रता बनाउँदै गोर्खाली विरुद्ध दरिलो रुपमा प्रस्तुत भयो।
पहिलो हाफमा ७–० अग्रता लिंदै एपीएफले विपक्षी विरुद्ध दरिलो चुनौती पेश गरेको थियो। दोस्रो हाफको शुरुआतमा अर्को ट्राई गरेपछि खेल एपीएफको पक्षमा १२–० को स्थितिमा पुगेको थियो।
दवावको यो बेला गोर्खालीलाई खेलमा फर्किन गाहो भइसकेको थियो। तर एक ट्राइ र एक कन्भर्जन सफल पार्दै गोर्खालीले खेलमा फर्किन प्रयास गर्यो। खेल सकिनै लागेको बेला यदु अधिकारीले अर्को ट्राई हान्नुका साथ कन्भर्जन पनि सफल भइ गोर्खालीले १४ अंक जोड्यो।
एपीएफका खेलाडीहरुले विपक्षीले फाउल खेलेको भन्दै असन्तुष्टि जनाएर खेल मैदान छोडेका थिए। लामो समय पछि पनि एपीएफ मैदानमा नफर्किएपछि रेफ्रीले गोर्खालीलाई विजयी घोषित गरेका थिए।
अर्को खेलमा तीन पटकका च्याम्पियन त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी विरुद्ध सहज जित हात पारेको हो। खेलको शुरुआत देखिनै विपक्षी विरुद्ध स्कोर जोड्न थालेको सेनाको टोली पहिलो हाफमा २२–० को सहज स्थितिमा पुगेको थियो।
दोस्रो हाफमा सेनाले थप २७ अंक जोड्न सफल भयो। नेपाल पुलिसले भने पेनाल्टीबाट ३ अंक सान्त्वना स्वरुप जोड्न सकेको थियो।
यसअघि नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले प्रतियोगिताको उद्घघाटन गरेका थिए। रग्बी फिफ्टिन्स नेपाल रग्बी संघले सन् २०१८ देखि थालेको रग्वी फिफ्टिन्सको एक मात्र क्लब प्रतियोगिता हो।
प्रतियोगिता अन्तर्गत अब शनिवार गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लब तथा नेपाल पुलिस र एपीएफ विच प्रतिस्पर्धा हुनेछ। राउन्ड रोविन लिगमा सबैले टोलीले एक अर्कोसंग खेले पछि शीर्ष टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ।