
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १६ औं विश्व योगासना च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार स्वागत गर्दै बधाइ दिएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले खेलाडीलाई स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए । टोली बुधबार स्वदेश फर्किएको थियो ।
मलेसियाको क्वाललम्पुरमा चैत २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न उमेरसमूह २ स्वर्ण १ रजत र ३ कांस्य गरी ६ पदक जितेको थियो ।
प्रयासजंग चौहान र प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । अमिष पटेलले रजत तथा किरन मगर, संस्कृती चौलागाईं र सुन्दर सार्कीले कास्य पदक हात पारे ।
विभिन्न २३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी थिए । नेपाल समग्रमा तेश्रो भएको नेपाल योग खेलकुद संघका महासचिव चुडामणि खरेलले जनाएका छन् । भारत पहिलो तथा अमेरिका दोश्रो भए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पुस्करराज पन्त, संग्राम पुरी, आनन्द गैरे र दीपा पाण्डेले २ साताको प्रशिक्षण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले जुनियर खेलाडीमा ध्यान दिन सकेमात्र राष्ट्रलाई अन्तर्राष्ट्रिय सफलता दिलाउने खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउदै खेलाडीले जुन विधामा पदक ल्याउछ त्यसैमा विशेष जोड दिनु पर्ने सुझाए ।
स्वर्ण विजेता प्रयास र प्रत्युषाले राष्ट्रलाई स्वर्ण दिलाएकोमा खुशी व्यक्त गर्दै विश्व च्याम्पियनसिपबाट धेरै कुरा सिक्ने अवसर मिलेको अनुभव सुनाए ।